काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका पूर्व मन्त्री आनन्द पोखरेल अन्ततः ईश्वर पोखरेल नेतृत्वको प्यानलमा समेटिएका छन् । यसअघि उक्त प्यानलबाट उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरीले मात्र उम्मेदवारी दिएका थिए । आनन्द पोखरेल र बैजनाथ चौधरी दुवै जना पहिले अध्यक्ष केपी शर्मा ओलीकै टिममा रहेका नेता हुन् । तर पछिल्लो समय विद्या भण्डारीको सदस्यता निरन्तरताको पक्षमा उभिएको कारण केही नेताहरूले उनीहरूलाई पदाधिकारीमा समेट्न अवरोध गरेपछि दुवैले बगावती धार रोजेका थिए । अन्तिम समयमा उपमहासचिव पदमा उम्मेदवारी दिएका पोखरेललाई ईश्वर पोखरेलको प्यानलमा समावेश गरिएको हो । बागमती प्रदेशमा राम्रो प्रभाव राख्ने तथा देशभरका कार्यकर्ता पंक्तिमा परिचित भएकाले उनलाई उपमहासचिव पदमा प्यानलमा समेटिएको नेताहरूको भनाइ छ । पोखरेल पछिल्लो समय काठमाडौं जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए । इन्चार्ज पोखरेल र जिल्ला अध्यक्ष दिपक निरौला दुवै विद्या भण्डारीनिकट भएकाले काठमाडौंबाट आएका धेरै प्रतिनिधि उनीहरूकै पक्षमा रहेको बुझाइ छ । दोलखा जिल्लाबाट दुई पटक सांसद निर्वाचित भई पर्यटन मन्त्रीसमेत बनेका पोखरेल हालसम्म पोलिटब्युरो सदस्यका रूपमा सक्रिय थिए ।