काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा इटालीविरुद्ध १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए भने कप्तान रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे। दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए भने करण केसी १८ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कुशल भुर्तेलले ५ रन बनाउँदा लोकेश बम र गुलशन झाले समान ३–३ रन जोडे भने नन्दन यादवले खाता खोल्न सकेनन्।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन विकेट लिए भने बेन मनेन्टीले दुई विकेट हात पारे। अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान एक–एक विकेट लिए।
यसअघिको खेलमा इंग्ल्यान्डविरुद्ध १८४ रनको लक्ष्य पछ्याउँदै १८० रन बनाएको नेपाल ४ रनले पराजित भएको थियो। उक्त खेलमा आक्रामक ब्याटिङ देखाएको नेपालले इटालीविरुद्ध भने अपेक्षाकृत कमजोर प्रदर्शन गरेको छ।