सुदूरपश्चिममा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्दै, आजै शपथ

nepaltext

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन्। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन्। सोही समयभित्र एमालेको समर्थनमा भट्टले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन्।

भट्टको दाबी पेस भएपछि प्रदेश प्रमुखले शुक्रबार नै उनलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ। नेकपाका एक सांसदका अनुसार बिहान ११ बजे मुख्यमन्त्री नियुक्त भएपछि दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ।

मुख्यमन्त्री नियुक्त भएलगत्तै भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

सुदूरपश्चिममा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटसमेत यसअघि नै टुंगो लागिसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउनेछ।

एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषि मन्त्रालयमध्ये तीनमध्ये कुन–कुन लिने भन्ने टुंगो लगाउने तयारी गरेको स्रोतले जनाएको छ।

यसअघि ३१ असारमा एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि सरकार अल्पमतमा परेपछि शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेका थिए।

प्रदेशसभामा राजीनामाको घोषणा गरेलगत्तै शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए। त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रतिक्रिया