कांग्रेसले उठाएको एजेन्डा अहिले जेन–जीले पनि उठाएका छन्: शेखर कोईराला

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले विगतदेखि उठाउँदै आएको भ्रष्टाचारमुक्त समाजको एजेन्डा अहिले जेन–जी पुस्ताले पनि अघि सारेको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग संवाद गर्दै उनले भ्रष्टाचारमुक्त समाज स्थापना नगरी देशको विकास सम्भव नहुने स्पष्ट पारे। सो क्रममा उनले भने, ‘भ्रष्टाचार मुक्त समाज नबनाई विकासको कामहरू अगाडि बढ्न सक्दैन। जेनजीले पनि त्यही कुराहरू गरिराखेका छन्। अरू नयाँ पार्टीहरूले के गरिराख्या छन् मलाई थाहा छैन। अरू पार्टीहरूले के गर्‍या छन् मलाई थाहा छैन। तर मैले तपाईहरूसितै आएर यो चुनावमा मात्रै होइन, ६४ सालको चुनावदेखि यही एउटै कुरा भनिराख्या छु– भ्रष्टाचार मुक्त समाज हामी बनाऔँ, सुशासन दिऔँ, विकास गरौँ, रोजगारीका अवसरहरू सिर्जना गरौँ।’ डा. कोइरालाले कांग्रेसको एजेन्डा नयाँ नभई निरन्तर रूपमा उठाइँदै आएको विषय भएको उल्लेख गर्दै अहिले युवापुस्ताबाट त्यही माग उठ्नु सकारात्मक संकेत भएको बताए।

उनले युवाहरूको भूमिकालाई अझ संस्थागत गर्न स्थानीय तहको निर्वाचनमा कम्तीमा ४० प्रतिशत उम्मेदवार युवालाई बनाउनुपर्ने आवश्यकता औँल्याए। यसै सन्दर्भमा उनले भने, ‘प्रदेशको चुनावमा ३०, सङ्घीय चुनावमा २० प्रतिशत युवाहरूलाई दिनुपर्छ भनेर भनिराखेको छ। युवाहरूको महत्त्व नेपाली कांग्रेसले नबुझेको होइन। युवाहरूको महत्त्व नेपाली कांग्रेसले बुझेको छ। तपाईँहरू युवा हुनुहुन्छ भने तपाईँहरूको विचार मैले बोकेर हिँडिराखेको छु। आज होइन म ५–७ वर्ष देखिन यो कुराहरूलाई बोलिराखेको छु।’ डा. कोइरालाले युवाको सोच, ऊर्जा र सहभागितालाई नीति निर्माण र नेतृत्वमा समेट्न सके मात्रै लोकतन्त्र सुदृढ हुने र विकासले गति लिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया