काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट नेताहरूसँग निरन्तर छलफल गर्दै पार्टी एकता जोगाउने प्रयासमा रहेको बताएका छन्। उनले आफू विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम राख्ने अन्तिम प्रयासमा रहेको स्पष्ट पारेका छन्। पार्टीलाई फुटबाट जोगाउन डा. कोइरालाले पार्टीका सबै पक्षसँग निरन्तर संवाद गर्दै आएको जानकारी दिँदै भने, ‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरूसँग कुरा गरिरहेको छु कि पार्टी कुनै हालतमा फुट्न नपरोस्। तपाईंहरू ढुक्क हुनुहोस्, पार्टी फुट्दैन। तपाईंहरू पनि त्यसैमा लाग्नुहोस्, निराश हुने कुनै काम छैन।’
उक्त छलफलमा सहभागी कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्य समितिलाई मात्र भएको उल्लेख गरेका थिए। त्यसैले, अहिले महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशन वैध नभएको र नेतृत्व परिवर्तन गर्न नमिल्ने प्रस्ट पारिएको छ।
छलफलमा सहभागी सबै नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फूटबाट जोगाउन डा. कोइरालाले दुवै पक्षसँग सहजीकरण गरी पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका थिए। यसमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बल ब. केसी, मिनेन्द्र रिजाल, वरिष्ठ अधिवक्ताहरू– शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता रहेको थियो।