काठमाडौं । नेकपा एमालेले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै गम्भीर आपत्ति जनाएको छ । दल तथा उम्मेदवारविरुद्ध प्रविधिको गलत प्रयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी पार्टीले दिएको छ । प्रचार विभाग प्रमुख तथा आम चुनावका लागि पार्टी प्रेस संयोजक मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गैर-जिम्मेवार र गैर-राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी त्यसको विरोध गर्दछ । विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ ।’ एमालेले निर्वाचन चिन्ह परिवर्तन गरिएको जस्ता भ्रामक प्रचार सामग्री तयार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने कलाकार वा अन्य जो कोहीलाई पनि कानुनको दायरामा ल्याइने स्पष्ट पारेको छ । साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित तथा असभ्य शब्द प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको सचेत उल्लङ्घन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति पनि विज्ञप्तिमा आपत्ति जनाइएको छ । यसैबीच, फागुन २१ गते हुने निर्वाचनका लागि १६३ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारको उम्मेदवारी दर्ता भइसकेको शाहीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने मनाङमा प्राविधिक कारणले उम्मेदवारी कायम हुन सकेन ।