दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल

nepaltext

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको उपस्थितिमा मन्त्रालयका अधिकारी र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिबीच दिगो वन व्यवस्थापन तथा वन डढेलो नियन्त्रणका विषयमा छलफल भएको छ।

मन्त्री चौधरीको सचिवालयका अनुसार भेटवार्तामा नेपालको वनलाई केवल संरक्षणमा सीमित नराखी दिगो तथा आर्थिक रूपमा उत्पादनशील बनाउने विषयमा विशेष जोड दिइएको थियो। मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठको आयात घटाउने र वन क्षेत्रबाट रोजगारीका अवसर विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए।

उनका अनुसार दिगो वन व्यवस्थापनका लागि ‘रिभोल्भिङ फन्ड’ स्थापना गर्ने, निजी क्षेत्र तथा सार्वजनिक–निजी–समुदाय साझेदारी (पिपिपी) लाई प्रोत्साहन गर्ने विषय पनि छलफलमा समेटिएको थियो। वन व्यवस्थापन, काठ संकलन तथा अनुगमनलाई प्रभावकारी बनाउन ड्रोन, कृत्रिम बौद्धिकता (एआई) र डिजिटल ट्र्याकिङजस्ता आधुनिक प्रविधिको प्रयोग बढाउने विषयलाई समेत प्राथमिकता दिइएको थियो।

त्यसैगरी, वन डढेलो नियन्त्रणका लागि एआई र स्याटेलाइट प्रविधिमा आधारित एकीकृत राष्ट्रिय डढेलो पूर्वसूचना प्रणाली विकास गर्ने तथा डढेलोको जोखिम नक्सांकन गर्ने विषयमा पनि छलफल भएको ढकालले बताए।

डढेलो लागेपछि मात्रै उद्धार तथा नियन्त्रणमा केन्द्रित हुनुभन्दा पूर्वतयारी र रोकथामलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरूबीच जोड दिइएको मन्त्रालयले जनाएको छ।

डढेलो नियन्त्रणमा समुदाय र वन कर्मचारीको क्षमता अभिवृद्धि गर्ने तथा उनीहरूका लागि आवश्यक सुरक्षा उपकरण, सञ्चार प्रविधि र सवारीसाधनको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया