काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी प्राकृतिक ग्यास आपूर्तिमा अवरोध सिर्जना भएपछि भारतका होटल तथा रेस्टुरेन्ट व्यवसाय नराम्ररी प्रभावित भएका छन्। ग्यासको आपूर्ति घटेपछि भारतीय व्यवसायीहरूले केन्द्र सरकारसँग उद्योगका लागि निरन्तर ग्यास आपूर्तिको ग्यारेन्टी गर्न माग गरेका छन्।
विशेषगरी कर्नाटक र तमिलनाडुका होटल व्यवसायीहरूले ग्यास अभावका कारण दैनिक कार्यसञ्चालनमै समस्या देखिएको बताएका छन्। होटल ओनर्स एसोसिएसनका निर्देशक सन्तोष माल्नाडका अनुसार सरकारले व्यावसायिक सिलिन्डरको आपूर्तिमा कडाइ गरेपछि यो क्षेत्र ठूलो संकटमा फसेको छ।
उनले भने, ‘सरकारले स्वास्थ्य, कृषि र शिक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिँदै तेल कम्पनीहरूलाई व्यावसायिक सिलिन्डर उपलब्ध गराउन निर्देशन दिएको छ । तर होटल उद्योगका लागि सिलिन्डर बिना सञ्चालन सम्भव छैन । यो हाम्रो मुख्य ऊर्जा स्रोत हो ।’
माल्नाडले होटल उद्योगलाई पनि 'आवश्यक वस्तु ऐन' अन्तर्गत राखेर नियमित ग्यास उपलब्ध गराउन माग गरेका छन्। साथै, १९ केजीको व्यावसायिक सिलिन्डरमा दिइँदै आएको १५० रुपैयाँ छुट हटाएर उल्टै १४५ रुपैयाँ मूल्य वृद्धि गरिएकोमा उनले असन्तुष्टि जनाए।
यता तमिलनाडुका साना होटल र खाद्य व्यवसायहरूमा पनि एलपीजीको ठूलो अभाव देखिएको छ। ग्यास अभावकै कारण चेन्नईसहितका क्षेत्रमा केही होटलहरूले आफ्ना मेनुमा रहेका परिकारहरू समेत घटाउन थालेका छन्। तर, घरेलु उपभोक्ताका लागि भने ग्यास आपूर्तिमा कुनै समस्या नरहेको एलपीजी एसोसिएसनका राष्ट्रिय उपाध्यक्ष आरके गुप्ताले बताएका छन्।
उनले भने, ‘तेल कम्पनीहरूका अनुसार घरेलु एलपीजीको आपूर्तिमा अभाव छैन । व्यावसायिक सिलिन्डर भने हिजोदेखि वितरण गरिएको छैन, तर अस्पताल र शैक्षिक संस्थालाई अपवाद दिइएको छ ।’
मध्यपूर्वको युद्धका कारण हर्मुज जलमार्गबाट हुने ढुवानी प्रभावित भएपछि भारत सरकारले ग्यास वितरणका लागि नयाँ नियम समेत लागू गरेको छ। विश्लेषकहरूका अनुसार यो द्वन्द्व लम्बिएमा यसको थप असर दक्षिण एसियाली अर्थतन्त्रमा पर्न सक्नेछ।