रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँद्वारा राजीनामा, उम्मेदवार चयनमा चरम विकृतिको आरोप

nepaltext.com

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनुभएको छ। बिहीबार पार्टी महामन्त्री समक्ष राजीनामा बुझाउँदै उहाँले रास्वपा परित्यागको घोषणा गर्नुभएको हो।

गत २०७९ को निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका हुमागाईँले राजीनामा पत्रमा पार्टी छाड्नुका ७ वटा गम्भीर कारणहरू उल्लेख गर्नुभएको छ। उहाँले विशेषगरी आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको र केन्द्रीय संरचना विस्तार एवं आर्थिक व्यवस्थापनमा अपारदर्शिता देखिएको आरोप लगाउनुभएको छ।

'चटकदार' लाई प्राथमिकता, पुरानालाई पाखा हुमागाईँले वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाएर अन्य दलबाट भर्खरै आएका र 'चटकदार' व्यक्तिहरूलाई प्राथमिकता दिइएको दाबी गर्नुभएको छ। "हिजोसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका वा सामाजिक अभियन्ता भन्दै हिँड्नेहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको छ," उहाँले राजीनामा पत्रमा लेख्नुभएको छ।

'जान्नेलाई छान्ने' नारा कि 'गणेश प्रवृत्ति'? पार्टीको सुरुवाती नारा 'जान्नेलाई छान्ने' भए पनि व्यवहारमा नेतृत्वको चाकडी गर्ने 'गणेश प्रवृत्ति' का पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ प्राथमिकता दिइएको हुमागाईँको तर्क छ। यसले भोलिको संसद्लाई विकृत र अवसरवादी संरचनामा परिणत गर्ने संकेत गरेको उहाँले उल्लेख गर्नुभएको छ।

पार्टीभित्र बढ्दो असन्तुष्टि अघिल्लो निर्वाचनमा काभ्रे-२ बाट १० हजार ५७३ मत प्राप्त गर्नुभएका हुमागाईँको बहिर्गमनले रास्वपालाई धक्का लाग्ने अनुमान गरिएको छ। रास्वपामा पछिल्लो समय उम्मेदवार चयन र आर्थिक पारदर्शितालाई लिएर असन्तुष्टि बढ्दो छ। हिजो मात्रै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी (उर्मिला) भुर्तेलले पनि पार्टी परित्याग गरेका थिए।

प्रतिक्रिया