सिरहा । लहान नगरपालिका-१५ स्थित हात्तीदह क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह वनस्टे’ सञ्चालनमा ल्याइएको छ।
‘होमस्टे’ जस्तै अवधारणामा आधारित यस वनस्टेले पर्यटकलाई प्राकृतिक वातावरणसँगै स्थानीय कला र संस्कृतिको अनुभव गराउने लक्ष्य राखेको छ। यसअघि कोइरालो खोला नमुना वन उपभोक्ता समूह ले सामुदायिक वनभित्रको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आएको थियो। सोही क्षेत्रमा वनस्टे स्थापना गरिएको हो।
वनस्टे निर्माणका लागि केयर नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल र राष्ट्रिय कृषक समूह महासङ्घ को साझेदारीमा सञ्चालित संरक्षण परियोजनाले सहयोग गरेको छ।
उपभोक्ता समूहका अध्यक्ष रुद्रनारायण चौधरी का अनुसार वन तथा सिमसार क्षेत्रको संरक्षणसँगै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले वनस्टे सञ्चालनमा ल्याइएको हो। पहिलो चरणमा दुई कोठे पाहुना घरबाट सेवा सुरु गरिएको छ।
वनस्टे परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, चिडियाखाना र सेल्फी स्थलजस्ता आकर्षणहरू तयार गरिएको छ। यहाँको शान्त र रमणीय वातावरणले पर्यटकलाई विशेष अनुभव दिने अपेक्षा गरिएको छ।
वनस्टे निर्माणमा करिब आठ लाख रुपैयाँ परियोजनाबाट र तीन लाखभन्दा बढी रकम उपभोक्ता समूहबाट खर्च गरिएको जनाइएको छ। वनस्टे उद्घाटन गर्दै नगरप्रमुख महेशप्रसाद चौधरी ले थप पूर्वाधार विकासका लागि नगरपालिकाबाट २० लाख रुपैयाँ बजेट विनियोजन गरिने जानकारी दिएका छन्।
वडाध्यक्ष तेजनारायण चौधरी का अनुसार यहाँ आउने पाहुनालाई थारू समुदायको संस्कृति प्रदर्शन र परम्परागत परिकारहरू पनि उपलब्ध गराइनेछ।
हाल वनस्टेमा प्रतिव्यक्ति ८ सय रुपैयाँमा खाना र बस्ने सुविधा उपलब्ध छ। दैनिक दुई हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जनाइएको छ।
लहान बजारबाट करिब पाँच किलोमिटर उत्तर, चुरे क्षेत्रको काखमा रहेको हात्तीदह अहिले प्राकृतिक सौन्दर्य, सामुदायिक वन व्यवस्थापन र सांस्कृतिक अनुभवका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।