कांग्रेसले देखायो बालेन सरकारका १५ कमजोरी (पूर्णपाठ)

nepaltext

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि १५ बुँदे प्रश्न उठाउँदै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा असफल भएको आरोप लगाएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकार नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको सङ्कटबाट गुज्रिरहेको दाबी गरे।

चालिसेले सरकारले समस्या समाधानतर्फ अग्रसर हुनुको सट्टा विषयान्तर गरेर जनताको ध्यान अन्यत्र मोड्ने प्रयास गरिरहेको आरोप लगाए।

‘दुर्भाग्यवश, यो सरकार जब नैतिक संकट, राजनीतिक असक्षमता र जनविश्वासको सङ्कटले घेरिन्छ, तब समस्याको समाधान खोज्नुको सट्टा विषयान्तर गर्दै जनताको ध्यान अर्कैतर्फ मोड्ने प्रयासमा लाग्ने गरेको देखिन्छ,’ उनले भने। ‘तर केही यस्ता मुद्दा छन्, जसको महत्त्व न समयले घटाउन सक्छ, न त सरकारी प्रयासले छोप्न सक्छ।’

उनले सरकार कुनै पनि हालतमा सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिए।

कांग्रेसले सरकारको आन्तरिक विषयमा टिप्पणी गर्ने उद्देश्य नभएको स्पष्ट पार्दै सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेका बेला प्रतिपक्ष मौन बस्न नसक्ने जनाएको छ।

चालिसेका अनुसार लोकतान्त्रिक जिम्मेवारीबोधका साथ कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सुशासनप्रतिको कमजोरी औँल्याएको हो।

उनले सरकारले सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको दाबी गर्दै त्यसका कारण सरकारप्रतिको जनविश्वास निरन्तर घट्दै गएको बताए।

‘जनताले नारा होइन, परिणाम खोजेका छन्। आश्वासन होइन, कार्यान्वयन खोजेका छन्,’ उनले भने। ‘सरकारले राजनीतिक स्टन्टमार्फत आफ्नो बचाउ गर्ने होइन, पूर्ण पारदर्शिता र जवाफदेहिताका माध्यमबाट जनविश्वास पुनःस्थापित गर्नुपर्छ। अन्यथा इतिहासले यस सरकारलाई समस्या लम्ब्याएर राजनीतिक लाभ खोज्ने असफल सरकारका रूपमा मूल्याङ्कन गर्नेछ।’

        

प्रतिक्रिया