१४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य

nepaltext

म्याग्दी । बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा पूर्ण परिपक्व नहुँदै किशोरीहरू गर्भवती हुने र आमा बन्ने अवस्था म्याग्दीमा देखिएको छ । जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये करिब पाँच जनामा एक जना २० वर्षमुनिका रहेको तथ्याङ्कले देखाएको छ । एक किशोरीले भने १४ वर्षकै उमेरमा आमा बन्नुपरेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अर्थात् १९.८२ प्रतिशत २० वर्षमुनिका छन् । कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार तीमध्ये छ जना घरमै सुत्केरी भएका थिए ।

गत आर्थिक वर्ष सुरक्षित गर्भपतन सेवा लिने ७९० जनामध्ये ४३ जना अर्थात् ५.७५ प्रतिशत २० वर्षमुनिका रहेको सुवेदीले जानकारी दिनुभयो ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा सुत्केरी तथा सुरक्षित गर्भपतन सेवा लिएका कुल एक हजार ३८४ जनामध्ये १९० जना अर्थात् १३.७२ प्रतिशत २० वर्षमुनिका थिए । आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका १६१ जना सुत्केरी भएका थिए भने सोही उमेर समूहका २९ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।

विसं २०७८ को जनगणनाअनुसार म्याग्दीमा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ छ । जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ४७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसकी उपप्राध्यापक रेखाकौशल रेग्मीले समाजमा बालविवाहको स्वरूप फेरिए पनि यसको अभ्यास अझै कायम रहेको तथ्याङ्कले देखाएको बताउनुभयो । उहाँले मेलाजात्रा, सामाजिक सञ्जाल, गरिबी, अभिभावकीय निगरानीको कमी, उचित संरक्षणको अभाव तथा भावनात्मक प्रभावका कारण किशोरीहरू बालविवाह र अनिच्छित गर्भधारणको जोखिममा पर्ने गरेको बताउनुभयो ।

प्रदेश अस्पताल बेनीका प्रमुख चिकित्सक डा. हेमन्त बास्तोलाका अनुसार गत आर्थिक वर्ष अस्पतालमा सुत्केरी भएकामध्ये एक जना १४ वर्षकी किशोरी थिइन् । त्यस्तै १५ वर्षका तीन, १६ वर्षका चार, १७ वर्षका १० र १८ वर्षका २२ जनाले अस्पतालबाट प्रसूति सेवा लिएका थिए ।

उहाँका अनुसार बालविवाहसँगै विद्यालय छाड्ने अवस्था, गरिबी, सामाजिक दबाब, लैङ्गिक असमानता तथा किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमीले समस्या थप जटिल बनाएको छ । शरीर पूर्ण रूपमा परिपक्व नभइसकेका किशोरीमा गर्भावस्था र प्रसूतिको समयमा विभिन्न स्वास्थ्य जटिलता देखिन सक्ने जोखिमसमेत रहने उहाँले बताउनुभयो ।

प्रदेश अस्पताल बेनीको अभिलेखअनुसार पछिल्लो १४ महिनामा सुत्केरी हुन आएका २० वर्षमुनिका किशोरीमध्ये ५२ जना अर्थात् ६८.४ प्रतिशत दलित समुदायका छन् । सो अवधिमा जनजाति समुदायका १७ र ब्राह्मण/क्षेत्री समुदायका सात जना किशोरीले प्रसूति सेवा लिएका छन् ।

विद्यालय तहको शिक्षा पूरा नहुँदै गर्भवती तथा आमा बन्नुपर्दा किशोरी र युवतीहरू उच्च शिक्षा तथा रोजगारीका अवसरबाट वञ्चित हुने गरेको उपप्राध्यापक रेग्मीको भनाइ छ । यसले उनीहरूलाई सामाजिक रूपमा समेत पछाडि पार्ने गरेको उहाँले बताउनुभयो ।

बीस वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने कानुनी व्यवस्थाका कारण विवाह दर्ता नहुँदा जन्मदर्ता, विद्यालय भर्ना, सरकारी सेवा–सुविधा तथा अन्य आवश्यक कागजात बनाउनसमेत समस्या हुने गरेको जनाइएको छ ।

उमेर नपुगी विवाह गरेका दम्पतीले पारिवारिक जिम्मेवारी पूरा गर्न नसक्दा पारिवारिक विचलनका घटना पनि देखिने गरेका छन् । चिकित्सक बास्तोलाका अनुसार बालविवाह रोकथामका लागि कानुनी सचेतना मात्र पर्याप्त छैन । विद्यालयमा किशोरीहरूको निरन्तरता सुनिश्चित गर्ने, परिवारको आर्थिक अवस्था सुधार गर्ने, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा विस्तार गर्ने तथा जोखिममा रहेका बालबालिकाको समयमै पहिचान र संरक्षणलाई प्रभावकारी बनाउन आवश्यक छ ।

प्रतिक्रिया