सरकारको स्वेच्छाचारी कदमविरुद्ध एमाले सडकमा उत्रिन तयार : शंकर पोखरेल
nepaltext
२० साउन २०८३, बुधबार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले लोकतान्त्रिक मर्यादा विपरीत स्वेच्छाचारी ढंगले अघि बढे एमाले सडक आन्दोलनमा उत्रिन तयार रहेको चेतावनी दिएका छन्।
बुधबार दाङमा पत्रकारसँग कुरा गर्दै उनले सरकार गलत दिशातर्फ अघि बढिरहेको आरोप लगाए। सरकार गठन भएको चार महिनामै विकल्प खोज्नुपर्ने अवस्था नआए पनि स्वेच्छाचारी गतिविधि जारी रहे जनतालाई फेरि सडकमा आउनुपर्ने परिस्थिति सिर्जना हुन सक्ने उनको भनाइ थियो।
पोखरेलले सरकारलाई लोकतान्त्रिक सीमाभित्र राख्न प्रतिपक्षी दलहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै मुलुकको रक्षा र जनताको हितका लागि आवश्यक परे एमालेका नेता–कार्यकर्ता जुनसुकै बेला आन्दोलनमा उत्रिन तयार रहेको बताए।
उनले भदौ २४ गतेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार ठहर गरिएको स्मरण गराउँदै सुनसरी घटनामा पनि वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक तथा राजनीतिक जिम्मेवारी लिनुपर्ने धारणा राखे।
विगतमा सुरक्षा निकायले गरेको बल प्रयोगका लागि तत्कालीन नेतृत्वलाई जिम्मेवार बनाइएको उदाहरण दिँदै उनले वर्तमान सरकारले आफ्नो कार्यकालमा भएको बल प्रयोगबाट उत्पन्न क्षतिको जिम्मेवारीबाट उन्मुक्ति पाउन नसक्ने बताए।
प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा लगाएका आरोपबारे सार्वजनिक रूपमा आत्मालोचना गर्दै माफी माग्नुपर्ने उनको माग थियो। "विगतमा जे गर्यौँ, नबुझीकन गर्यौँ भनेर माफी माग्नुपर्छ। त्यसो गर्न नसके राजीनामा दिनुपर्छ," उनले भने।
फरक प्रसंगमा पोखरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिएको विषयप्रति पनि असन्तुष्टि जनाउँदै उक्त प्रकरणमा कानुनको गलत प्रयोग भएको दाबी गरे।