काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको राहदानी कसुर सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। युवराज पौडेल (सफल) ले दुई वर्षअघि दायर गरेको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको हो। लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै पौडेलले सर्वोच्चमा रिट निवेदन दिएका थिए।
यसअघि २०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो। प्रहरी र सरकारी वकिल कार्यालयको प्रतिवेदनका आधारमा गरिएको उक्त निर्णयलाई रिट निवेदकले भने 'दुराग्रहपूर्ण' र 'क्षेत्राधिकार बाहिरको' भनी चुनौती दिएका छन्। अमेरिकी नागरिक कायम रहेको अवस्थामा 'नेपाली नागरिक हुँ' भनी झुट्टा विवरण दिएर राहदानी लिनु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कसुर भएको रिटमा जिकिर गरिएको छ।
निवेदक पौडेलले राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको 'आपराधिक मनसाय' नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले आफैँ निष्कर्ष निकाल्नु कानुनसम्मत नभएको दाबी गरेका छन्। अदालतले आज गर्ने सुनुवाइलाई लामिछानेको राजनीतिक र कानुनी भविष्यका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ।