काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट मतदान प्रक्रिया सुरु भएको छ। बिहान ९ बजेर १० मिनेटमा विद्युतीय भोटिङ मेसिनमार्फत पहिलो मतदान भएपछि सुरु भएको यो प्रक्रियामा बिहान ११ बजेर १० मिनेटसम्म २०० जना प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। कुल २,२६३ प्रतिनिधि सहभागी रहेको यस महाधिवेशनमा नयाँ नेतृत्व छान्न मतदाताहरूको ठुलो उत्साह देखिए पनि मतदानको गति भने अपेक्षा गरेभन्दा केही सुस्त पाइएको छ। विद्युतीय भोटिङ मेसिनका व्यवस्थापक रामप्रसाद रिमालका अनुसार मतदाताहरूले मेसिनको प्रयोगमा केही बढी समय लिइरहेका कारण प्रक्रियामा ढिलाइ हुन गएको हो। यही रफ्तारमा मतदान कार्य अघि बढेमा सम्पूर्ण प्रतिनिधिले मत खसाली सक्न अझै करिब १० घण्टा लाग्ने अनुमान गरिएको छ। प्रविधिमैत्री निर्वाचन प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्ने एमालेको यो अभ्यासलाई यतिबेला निकै चासोका साथ हेरिएको छ।