सुनसरीमा गोली चल्दा एक जना घाइते, दुई जना पक्राउ

nepaltext

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् । शनिबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन् ।

वडाध्यक्ष सूर्यनारायण पालका अनुसार गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार उनको तिघ्रामा गोली लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । गोली चलाउने समूहको पहिचान खुल्न बाँकी रहेको र अन्य संलग्न व्यक्तिको खोजी भइरहेको उनले बताए ।

‘घाइतेको तिघ्रामाथि चोट छ, गोली लागेको भनिएको छ, तर हतियार बरामद भएको छैन,’ डीएसपी खड्काले भने, ‘हामी थप अनुसन्धान गर्दैछौँ ।’

घटनापछि स्थानीय आक्रोशित भएका छन् । थप क्षति हुन नदिन प्रहरीले क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

प्रतिक्रिया