काठमाडौं । पूर्वसांसद अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय भएका छन् र औपचारिक रूपमा आज जनकपुरधाममा हुने रास्वपाको सभाबाट पार्टी प्रवेश गर्ने तयारीमा छन् । उक्त सभालाई सम्बोधन गर्न रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहलगायत शीर्ष नेताहरू जनकपुरधाम पुगिसकेका छन् । जनकपुरधामबाटै आफ्नो नयाँ राजनीतिक यात्राको औपचारिक सुरुवात हुने सिंहले बताएका छन् । उनले देश र मधेशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध स्वतन्त्र रहँदा उठाउँदै आएको आवाज अब पार्टीभित्र रहेर अझ सशक्त ढङ्गले उठाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकास चाहने मधेशका नागरिकलाई एकताबद्ध हुन आह्वान गरेका छन् । सिंह हिजोदेखि नै बालेन शाहसँगै जनकपुरधाममा सक्रिय देखिएका छन् र बिहानै बालेनसँग जानकी मन्दिरमा पूजा–दर्शन गर्न पुगेका थिए । अघिल्लो निर्वाचनमा उनले सर्लाही–४ बाट कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर जित हासिल गरेका थिए र यसपटक पनि सोही क्षेत्रबाट रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन्, यद्यपि अहिलेसम्म औपचारिक रूपमा टिकटको टुंगो लागेको छैन । पार्टी सभापति रवि लामिछाने र बालेन शाहले आजकै जनकपुर सभाबाट मधेशका प्रमुख उम्मेदवारहरू टुंग्याउने तयारी गरेको बताइएको छ ।