चितवनमा नागरिकतासम्बन्धी सेवा पुनः सुरु

nepaltext.com


चितवन जिल्ला प्रशासन कार्यालयले आजदेखि नागरिकता सहितका अत्यावश्यक सेवा सञ्चालनमा ल्याएको छ।

गत भदौ २४ गते जेन–जेड आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनीका कारण रोकिएको सेवा आजदेखि पुनः सुरु गरिएको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार नयाँ नागरिकता, प्रतिलिपि, नाबालक परिचयपत्रलगायतका सेवा फेरि सुचारु गरिएका छन्। सेवाको शुरुवात भरतपुर महानगरपालिका निवासी हार्दिक न्यौपाने र सविन महतोलाई नागरिकता प्रदान गरेर गरिएको हो।

प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “प्रदर्शनपछि उठेर सेवामा लागेका छौँ। सबैको संयुक्त प्रयासका कारण अन्य जिल्लाभन्दा चाँडै सेवा सञ्चालन गर्न सफल भयौँ।”

हाल आगलागी प्रभावित भवन सफा गरी सीमित कोठाबाट सेवा प्रवाह भइरहेको छ। केही दिनभित्रै राष्ट्रिय परिचयपत्र वितरणसमेत सुरु गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ।

यसैबीच, सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनले क्षति पुगेका सरकारी भवनहरूको निरीक्षण कार्य सुरु गरेको छ। प्रमुख झपटबहादुर कार्कीका अनुसार प्रत्येक कार्यालयको अवस्थाअनुसार रातो, पहेँलो वा हरियो स्टिकर टाँस गरेर मूल्याङ्कन गरिनेछ।

  • रातो स्टिकर: प्रयोग गर्न अयोग्य

  • पहेँलो स्टिकर: मर्मतपछि प्रयोगयोग्य

  • हरियो स्टिकर: तत्काल प्रयोगयोग्य

कार्यालयले संकलित विवरण मन्त्रालयमा पठाउने तयारी गरेको छ।

प्रतिक्रिया