कांग्रेसको स्पष्ट सन्देश: चुनावी गठबन्धन हुँदैन

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ। पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेसले प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमै आफ्ना उम्मेदवार उठाइसकेको जानकारी दिए। उनले चुनावपूर्व कुनै किसिमको गठबन्धन नहुने स्पष्ट गर्दै पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको र पूर्ण रूपमा प्रचार अभियानमा केन्द्रित रहेको बताए। यस क्रममा उनले भने, ‘चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ। हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ। त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु।’ प्रवक्ता चालिसेले थप रूपमा अधिनायकवाद सधैँ मिठा र चिप्ला भाषणमार्फत प्रवेश गर्ने गरेको उल्लेख गर्दै आफूलाई ‘नयाँ’ भन्ने शक्तिहरूको भ्रममा नपर्न आम मतदातालाई आग्रह गरे। कांग्रेस लोकतान्त्रिक मूल्य र संस्थागत प्रणालीको पक्षमा दृढ रहेको सन्देश दिनकै लागि पार्टीले एकल रूपमा चुनाव लड्ने निर्णय सार्वजनिक रूपमा दोहोर्‍याएको उनको भनाइ थियो।

प्रतिक्रिया