काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने स्पष्ट पारेकी छन्। राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताइन्। आफू रहरले होइन, परिस्थितिले जिम्मेवारीमा ल्याएको उल्लेख गर्दै उनले संवैधानिक व्यवस्था बिथोलिएको अवस्थामा देशलाई सङ्कटबाट जोगाउन बाध्य भएर प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताइन्। कार्कीले भनिन्, ‘म कुनै शासकीय आकांक्षा बोकेर पदको लोभमा प्रधानमन्त्री भएको होइन। बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्र्याकमा ल्याउन र देशलाई सङ्कटबाट बचाउनको लागि विषम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको हुँ ।’ उनले उम्मेदवारी दर्ता प्रक्रिया पूरा भइसकेको र राज्यका स्रोतसाधन निर्वाचन केन्द्रित भइसकेको जानकारी दिइन्। साथै आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षा व्यवस्थाको पूर्ण प्रत्याभूति गराइएको उल्लेख गरिन्। कार्कीले भनिन्, ‘आन्दोलनमा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गराइएको छ । एकीकृत निर्वाचन सुरक्षा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।’ निर्वाचन आचारसंहिता पालना गरी आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई उनले आह्वान गरिन्।