नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा गणतन्त्रको घोषणा गर्ने ऐतिहासिक थलोका रूपमा रहेको रुकुम (पूर्व)बाट समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएकाले त्यहीँबाट उम्मेदवारी दिने निर्णय गरेको स्पष्ट पारे। पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने ऐतिहासिक निष्कर्ष निकालिएको स्मरण गर्दै प्रचण्डले सो बैठकले महिला, जनजाति, मधेसी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको उल्लेख गरे। चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उनको भनाइ थियो। साथै, रुकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र ऐतिहासिक विचारधारात्मक बहस भएको स्मरण गर्दै उनले वर्तमान राजनीतिक अवस्थाबारे पनि धारणा राखे। ‘देश खासगरी जेनजी आन्दोलन भदौ २३ को र २४ को विध्वंशपछि असाधारण जटिल परिस्थितिवाट गुज्रिएको छ । राष्ट्र निकै ठूलो अफ्ठ्यारोमा छ । त्यसकारण राष्ट्रलाई एकतावद्ध गर्ने, अनि आन्दोलनलाई एउटा नयाँ उचाई दिने र देशभरी समाजवाद निर्माणको एउटा नयाँ सन्देश दिने उपयुक्त थलो कुन हुनसक्छ भन्दा हाम्रो पार्टीले र मैले रुकुम पूर्व नै त्यस्तो ठाउँ हो हुनसक्छ भनेर आएँ,’ उनले भने।