पाँच वर्ष खेर फाल्ने छुट छैन, संविधानमै सुधार गर्नुपर्छ: गगन थापा

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले मात्र देशमा चमत्कार गर्न सक्छ भन्ने मान्यता आफूलाई स्वीकार्य नभएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का मतदातासँगको छलफलमा उनले यसपटकको निर्वाचन एजेन्डा र नीतिभन्दा पनि को प्रधानमन्त्री बन्ने भन्ने विषयतर्फ केन्द्रित हुन पुगेको उल्लेख गरे। थापाका अनुसार राजनीतिक बहस विषयवस्तुमा भन्दा पनि व्यक्तिकेन्द्रित देखिन थालेको छ, जसले गर्दा मूल मुद्दा ओझेलमा परेका छन्।

उनले भने, ‘म सहमतिको राजनीतिमा विश्वास गर्छु। त्यसैले म एकजनाले चमत्कार गर्न सक्छ भन्ने कुरा मान्दिनँ। अहिले यसपालिको चुनाव चाहिँ दुर्भाग्य कस्तो भइदियो भने विषयवस्तुमा छलफल छैन, के गर्न खोजेको भन्ने कुरा छैन। को प्रधानमन्त्री बन्ने ? को कस्तो देखिने ? कसले कस्तो लाउने ? कसले कस्तो हिँड्ने ? भनेको जस्तो विषयवस्तु तिर गयो। जसले गर्दा हाम्रा छलफल, मुद्दाहरू सबै कुरा गौण बनेको छ।’

थापाले निर्वाचनपछिको पाँच वर्ष देशका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो समय खेर फाल्न नहुने बताए। संविधान कार्यान्वयन र आवश्यक सुधारका कामहरू यही अवधिमा गर्नुपर्ने उनको धारणा छ।

उनले थपे, ‘यो ५ वर्ष नेपालले खेर फाल्नुहुँदैन। यो ५ वर्ष खेर फाल्यो भने त्यसपछि हामीसँग समय छैन। यो संविधानलाई राखेर यसभित्र मिलाउनुपर्ने, सच्याउनुपर्ने कुराहरू थुप्रैमा काम गर्नुपर्नेछ। त्यसैले पाँच वर्ष मैले यहाँको प्रतिनिधि भएर जाने मौका पाउँदै गर्दा एमाले, नेकपा, रास्वपा सबैलाई मिलाएर, संविधानमा सबैको समझदारी बनाएर, संविधानको मूलभूत कुराहरू कायम राख्ने, तर बाँकी रहेका कुराहरूमा एउटा समझदारी बनाएर जाने मेरो प्रयास रहन्छ।’

प्रतिक्रिया