काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आफूहरु आतुर रहेको बताएकी छन्। ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले सरकारको काम दुई मुख्य एजेन्डामा केन्द्रित रहेको जानकारी दिँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यका साथ अहोरात्र खटेर तयारीका काम धेरै अघि बढाइसकेको बताइन्। उनले खराब तत्त्वको प्रतिरोधमा समुदायको भूमिका उत्तिकै आवश्यक हुने भन्दै सबैलाई सहकार्य गर्न आग्रह गरिन्।
उनले भनिन्, “मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो। समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु हुँदैन। शान्ति खल्बल्याउने वा कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ। खराब तत्त्वको प्रतिरोधमा समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ।”