निर्वाचनको संघारमा रास्वपा नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश

nepaltext.com

बर्दघाट (नवलपरासी), फागुन १४ l प्रतिनिधि सभाको निर्वाचन हुन मात्र एक साता बाँकी छँदा नवलपरासीको राजनीतिमा ठूलो फेरबदल आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवलपरासी जिल्ला सभापति महेन्द्र सिंह ठकुरी आफ्नो पद र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

विश्वप्रकाश शर्माद्वारा भव्य स्वागत नवलपरासीको बर्दघाटस्थित चौपतामा आयोजित नेपाली कांग्रेसको विशाल चुनावी सभाका बीच ठकुरीलाई कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा भित्र्याएका हुन्। उपसभापति शर्माले ठकुरीलाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्दै उनको आगमनले जिल्लामा कांग्रेस थप बलियो भएको बताए।

निर्वाचनको मुखमा रास्वपालाई धक्का निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला जिल्ला नेतृत्वले नै पार्टी छोडेपछि रास्वपाको स्थानीय सङ्गठनलाई ठूलो झट्का लागेको विश्लेषण गरिएको छ। सभापति ठकुरीसँगै रास्वपाका अन्य केही कार्यकर्ताहरू पनि कांग्रेस प्रवेश गरेका छन्।

पार्टी प्रवेशको लहर चुनावको अन्तिम समयमा आएर भएको यो पार्टी प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। "रास्वपाका जिल्ला सभापति नै कांग्रेसमा आउनुले लोकतान्त्रिक शक्तिप्रति जनताको आकर्षण बढेको पुष्टि गर्छ," स्थानीय कांग्रेस नेताहरूले बताएका छन्।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। यसले आगामी निर्वाचनमा नवलपरासीको चुनावी परिणाममा कस्तो असर पार्छ भन्ने कुरा अब चासोको विषय बनेको छ।

प्रतिक्रिया