बबरमहल बम घटनाको अभियोग लागेको राजकुमार तामाङ श्रम संस्कृति पार्टीको उपाध्यक्ष पदबाट निलम्बित

nepaltext.com

विराटनगर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको छ। बबरमहल बम विस्फोट काण्डमा दोषी देखिएपछि प्रहरीले तामाङलाई पक्राउ गरेपछि सो पार्टीले निलम्बन गरेको हो। पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुसन्धानमा कुनै बाधा नपुगोस् भनेर तामाङलाई पार्टीको कुनै पनि पदमा नरहने गरी निलम्बन गरिएको बताए। उनले अनुसन्धान नटुङ्न्जेलसम्म निलम्बन कायम रहने समेत जानकारी दिएका छन्।

साम्पाङले भने, राजनीतिक गतिविधिको कारण देखाउँदै प्रहरीले तामाङलाई पक्राउ गरेको भए पनि आफ्नो पार्टीले अनुसन्धानमा बाधा नपुर्‍याउनेछ। पक्राउ परेका तामाङ विश्व क्रान्ति उपनामले संयुक्त जातीय मुक्ति मोर्चा नामक सङ्गठनमा आवद्ध थिए। सो सङ्गठनमा रहँदा काठमाण्डौंसहित देशका विभिन्न स्थानमा बम विस्फोट गराएको आरोप उनीमाथि लागेको छ।

पुलिसको दाबी अनुसार, सो सङ्गठनले २०६८ फागुन १५ मा बबरमहलस्थित आयल निगम गेटमा बम विस्फोट गराएको थियो। उक्त घटनामा ३ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए। यस्तै, पाँचथरमा भएको अर्को घटनामा पनि एक व्यक्तिको ज्यान गएको थियो, जसमा तामाङ मुछिएका थिए। तत्कालीन समयमा सो सङ्गठन भूमिगत रहेर हिंसात्मक गतिविधि गर्दै आएको थियो। पक्राउ परेर जेल चलान भए पनि प्रजातन्त्र दिवसको अवसरमा सरकारले २०७६ फागुन ७ मा तामाङलाई आममाफी दिएको थियो।

प्रतिक्रिया