राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

nepaltext

काठमाडौँ -सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्यु हटाउँदै अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको निर्णयपछि दुवै नगरपालिकामा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, धर्ना तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम जारी गरिएको निषेधाज्ञा उल्लङ्घन नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गको जमुनी–थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक र दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र निषेधाज्ञा क्षेत्र तोकिएको छ।

यस्तै, बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमित रहन तथा प्रशासनका निर्णयमा सहयोग गर्न आग्रह गरेको छ। निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म कायम रहने जनाइएको छ।

प्रतिक्रिया