काठमाडौं - देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानकै आसपास र पूर्वतर्फ भने सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
रातिको समयमा पनि मौसम बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भागका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ। पहाडी क्षेत्रमा व्यापक तथा तराईका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाल, पहाड र तराईका केही स्थान, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको तराईमा भारीदेखि एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।