पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

nepaltext

काठमाडौँ, १७ साउन : अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको र केही सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

इलाम नगरपालिका–९ अन्तर्गत मेची राजमार्गमा वर्षापछि सडक हिलाम्मे बनेकाले सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडकमा पनि यातायात सञ्चालन बन्द भएको छ।

त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले पासाङ ल्हामु राजमार्ग कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खस्दा लार्के–बेनीघाट कच्ची सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया