काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिपुलेक, कालापानीलगायत नेपालको भूभागको सुरक्षा र संरक्षणमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने माग गरेको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा पार्टीका सांसद शिव नेपालीले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने सहमति भएको प्रसंग उठाउँदै नेपालको भूमि प्रयोगमा परिरहेको दबाबबारे गम्भीर प्रश्न उठाए। सांसद नेपालीले भने, “लिपुलेक र कालापानी नेपालको हिस्सा हुन्। छिमेकी राष्ट्रहरूले प्रयोग गर्ने भन्ने कुरा सार्वजनिक भएपछि हामी चिन्तित भएका छौँ। सरकार यथाशीघ्र कदम चाल्छ भन्ने विश्वास लिएका छौँ।”
उनले संविधानको रक्षा गर्नु पर्ने नेताहरू नै यसको अपमान गरिरहेको आरोप लगाउँदै राष्ट्रिय सार्वभौमिकताप्रति संवेदनशील बन्न आग्रह गरे। साथै, उनले भ्रष्टाचार नियन्त्रण र जनताको जीवनस्तर उकास्न सरकार लाग्नुपर्नेमा उल्टै मानव तस्करीमा संलग्नलाई संरक्षण गर्ने गतिविधि देखिएको आरोपसमेत लगाए।