काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति लिएर पनि भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। महानगरको शिक्षा विभागले सोमबार सूचना जारी गर्दै नाममात्रका १०७ विद्यालयलाई १५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो।
शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएका तर हाल स्थलगत रूपमा फेला नपरेका विद्यालयहरूको अनुगमन गरी प्रतिवेदन तयार पारिएको शिक्षा विभागले जनाएको छ। विभिन्न समयमा गरिएको अनुगमनका क्रममा कतिपय विद्यालय तोकिएको स्थानमै सञ्चालनमा नरहेको पाइएको निमित्त विभागीय प्रमुख केशव ज्ञवालीद्वारा जारी सूचनामा उल्लेख छ।
सूचनामा भनिएको छ, सूचीमा परेका विद्यालय यदि वास्तवमै सञ्चालनमा रहेका भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक वा व्यवस्थापकले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गरी सञ्चालनमा रहेको प्रमाण पेश गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने तथा विद्यालय सञ्चालनको पुष्टि गर्न नसक्ने विद्यालयलाई स्थायी रूपमा बन्द गर्न नगर कार्यपालिकामा सिफारिस गरिने तयारी महानगरले गरेको छ।