- परिवारबाद र लोभ पापले पार्टी सकिन लागेको भन्दै विशेष महाधिवेशनको माग
शुक्रबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय सदस्य उमेशजंग रायमाझीले नेताहरूको सात्तो लिएका छन्। सभापति शेरबहादुर देउबाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय सदस्य रायमाझीले नेताहरूलाई असफल जर्नेलको उपमा दिँदै बैठकको नौटंकी नगर्न समेत चेतावनी दिए। कार्यसम्पादन समिति सदस्य नभएपनि रायमाझीले बैठकस्थलमा प्रवेश गरी नेताहरूलाई झपार्दै सातो लिएका हुन्।
एमालेसँगको सहकार्यमा दुईतिहाइ निकटको सरकारको दम्भ देखाए पनि नयाँ पुस्ताको आन्दोलनले बढारिएका नेताहरूप्रति आक्रोश पोख्दै रायमाझीले अब पनि नचेत्ने हो भने उभिने ठाउँ समेत नपाउने चेतावनी दिए । रायमाझीले आक्रोशपूर्ण अभिव्यक्ति राख्दै गर्दा त्यहाँ उपस्थित अन्य नेताहरू मौन भएर सुनी मात्र रहे।
"तपाईँहरूले आन्दोलनमा आएका बच्चा मार्नुभएको छ। देशमा भ्रष्टाचार बढाउनुमा योगदान गर्नुभएको छ। परिवारवाद बढाउनुभएको छ। राजनीतिमा दासप्रथा भित्र्याउनु भएको छ। सीमित कोटरी भित्र रमाइरहनु भएको छ। यस्तो बेलामा समेत बृहत छलफलमा जान आँट गरिरहनु भएको छैन। केन्द्रीय समितिको बैठक बोलाउनुभएको छैन। अब यस्ता नौटंकी बैठकको कुनै औचित्य छैन। तपाईंको कुरा पनि अब कसैले सुन्नेवाला छैन।" रायमाझीले आक्रोश पोख्दै बैठकमा भने।
नेताहरू लोभी पापी धेरै भएको भन्दै उनले एकएक नेताप्रति आक्रोश पोखे। ३० वर्षदेखि एकै खालका नेताहरुको वरिपरि राजनीति घुमिरहेको र उनीहरूले अरुलाई ढीमकिन समेत नदिएको बताए। प्रतिनिधिसभामा चुनाव हारेकोलाई राष्ट्रिय सभा चाहिने, कसैलाई आफ्नो श्रीमती मेयर बनाउनुपर्ने, कसैलाई आफ्नो श्रीमतीलाई समानुपातिक सांसद बनाउनुपर्ने, छोराछोरी भाइ भतिजा सालासालीलाई मात्र अवसर दिनुपर्ने भन्दै उनले अझ थपे, "देशले नयाँ परिवर्तन खोजेको छ। तर यहाँ फेरि उही पुरानै कुरा र कुण्ठा मात्रै प्रस्तुत गर्ने?"
जेन्जी पुस्ताको आन्दोलनले नेपाली कांग्रेस समेत सहभागी भएको सरकार ढलेर नयाँ सरकार बनिसकेको अवस्थामा पार्टीमा समेत पुनरसंरचना हुनुपर्ने तर्क गर्दै रायमाझीले तत्काल कार्यवाहक तोकेर पार्टीलाई विशेष महाधिवेशनमा लिएर जानुपर्ने बताए। अझै पनि विशेष महाधिवेशनलाई टार्न खोजे पार्टीभित्र विद्रोह आउने उनले चेतावनी दिए।
जेन्जी पुस्ताको आन्दोलनपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनेको अवस्थामा समेत नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छैन। कार्यसमितिका केही पदाधिकारीहरूले जिल्ला सभापति, जनसम्पर्क समितिका सभापति, भातृसंस्थाका सभापतिहरूसँग जुम मिटिङ गरे पनि केन्द्रीय सदस्यहरूसँग अहिलेसम्म कुनै छलफल गरेका छैनन। रायमाझीले आफ्नो आक्रोशपूर्ण अभिव्यक्ति राखेर निस्किएपछि महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरेर पार्टीको पुनरसंरचना गर्नुपर्ने प्रस्ताव कार्यसम्पादन बैठकमा राखेका थिए। तर उनीहरूले राखेको प्रस्तावलाई कार्यसम्पादनका सदस्यहरुले पारित गरेर जाने कुनै इच्छा देखाएनन। शर्माले आफ्नो कुरा राख्ने क्रममा केन्द्रीय सदस्यहरूकै यस्तो आक्रोश छ भने जनतामा कस्तो आक्रोश होला भन्दै कार्यसम्पादनका सदस्यहरुलाई सचेत गराउने प्रयास गरेका थिए।