भारी वर्षापछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

nepaltext

रुकुमपूर्व - रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। भूमे गाउँपालिका–४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि काठमाडौं हुँदै रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पातर्फ जाने यात्रुवाहक बससहित अन्य सवारीसाधन बाटोमै रोकिएका छन्। पहिरोका कारण यात्रुहरू समेत अलपत्र परेका छन्।

सडक खुलाउन डोजर तथा जेसीबी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको छ। तर, लगातार वर्षा भइरहेकाले सडक खुलाउन कठिनाइ भइरहेको रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।

उनका अनुसार सडक सञ्चालनमा ल्याउन सिस्ने र भूमे गाउँपालिकाका जेसीबीसमेत परिचालन गरिएको छ। पहिरो ठूलो हुनुका साथै सडकसमेत क्षतिग्रस्त भएकाले तत्कालै पूर्ण रूपमा यातायात सञ्चालन गर्न समय लाग्न सक्ने उनले बताइन्।

वर्षा नरोकिएसम्म थप पहिरो खस्ने जोखिम कायमै रहेकाले प्रशासनले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया