काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बैतडीमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन्। हिजो बैतडीको पुर्चौडी नगरपालिकामा भएको उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए। दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सभापति थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विवाह उत्सवबाट फर्किएका आफन्तहरूको यस अकल्पनीय मृत्युले स्तब्ध बनाएको छ।’ विज्ञप्तिमा उनले यस पीडादायी घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गरेको उल्लेख गरेका छन्। साथै, शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। सभापति थापाले घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।