टनकपुर ब्यारेजबाट पानी ल्याउन भारतसँग उच्चस्तरीय समन्वय भइरहेको छ: मन्त्री कुलमान घिसिङ

nepaltext.com

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फको नहरमा पानी ल्याउन भारतीय पक्षसँग घनीभूत रूपमा समन्वय भइरहेको बताउनुभएको छ। राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) अन्तर्गत ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले दुई देशबीचका विभिन्न संयन्त्र र द्विपक्षीय भेटवार्ताहरूमा पानी छोड्ने विषयमा निरन्तर छलफल र पत्राचार भइरहेको जानकारी दिनुभयो। कञ्चनपुरको करिब पाँच हजार हेक्टर सुख्खाग्रस्त जमिनमा तत्काल सिँचाइ पुर्‍याउन नेपालतर्फको मुख्य तथा शाखा नहरहरू तयार भइसकेकाले भारतबाट चाँडै सकारात्मक निर्णय आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो।

नेपाल र भारतबीच भएको एकीकृत महाकाली सन्धिअनुसार नेपालले हिउँदमा ३०० क्यूसेक र वर्षायाममा १,००० क्यूसेक पानी पाउने व्यवस्था छ। सोही सन्धि बमोजिम सिँचाइका लागि आवश्यक संरचनाहरू निर्माण भइसके पनि पानी सञ्चालन हुन नसक्दा निर्मित संरचनाहरू बिग्रिन थालेको भन्दै आयोजनाले चिन्ता व्यक्त गरेको छ। करिब ९ अर्ब रुपैयाँ लगानी भइसक्दा समेत किसानले प्रतिफल नपाएको भन्दै स्थानीय स्तरमा चर्को आलोचना भइरहेका बेला मन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कुल ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामार्फत सतह र भूमिगत गरी कुल ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ।

प्रतिक्रिया