काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले थप तीन वटा विषयगत समितिलाई पूर्णता दिएको छ। यससँगै यसअघि गठन भएका आठ समितिपछि बैंक, फाइनान्स तथा बिमा समिति, मेला समिति तथा पर्यटन तथा हवाई यातायात समिति विस्तार भएका हुन्।
महासङ्घको सचिवालय टेकुमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त उपसभापति, सदस्य र सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण गरे। उनले विषयगत समितिलाई निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्रको रूपमा उल्लेख गर्दै सम्बन्धित क्षेत्रका नीतिगत विषयमा अध्ययन गरी महासङ्घमार्फत सरकारसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्न आग्रह गरे।
उनले निजी क्षेत्रको सशक्तीकरण, आर्थिक समृद्धि, लगानीमैत्री वातावरण निर्माण तथा नीति निर्माण प्रक्रियामा समितिको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।
वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले समितिहरू महासङ्घका नीति तथा कार्यक्रम कार्यान्वयनका आधार भएको बताउँदै सम्बन्धित क्षेत्रका व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि सक्रिय पहल गर्नुपर्नेमा जोड दिए। कोषाध्यक्ष मनीषलाल प्रधानले निजी क्षेत्र, सरकार र सरोकारवालाबीच समन्वय बढाउन समितिको सक्रिय भूमिका आवश्यक रहेको बताए।
बैंक, फाइनान्स तथा बिमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ तथा वित्तीय सेवामा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन र निजी क्षेत्रमैत्री नीतिका लागि समिति सक्रिय रहने बताए।
मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउँदै स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा प्राथमिकता दिने प्रतिबद्धता जनाए।
यस्तै, पर्यटन तथा हवाई यातायात समितिका सभापति सङ्घर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायातको सहजता, पर्यटन पूर्वाधार विकास र नीतिगत सुधारका लागि सरकारसँग समन्वय गरेर काम गर्ने बताए।
महासङ्घमा हाल विभिन्न क्षेत्र समेट्ने २५ वटा विषयगत समिति रहेका छन्।