८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले महाधिवेशन नगरी चुनावमा गए कांग्रेसको सर्मनाक हार हुने चेतावनी दिएका छन् । आज काठमाडौंमा पत्रकारसँगको कुराकानी गर्दै उनले संसद पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलाइ गरिए त्यसले उल्टै नकारात्मक परिणाम दिने बताए । ‘अधिवेशन नगरी निर्वाचनमा जाँदा कांग्रेसले सर्मनाक हार हुने स्थिति व्यहोर्छ’, पौडेलले भने, ‘अधिवेशन गरेर निर्वाचनमा बढी सिट जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्यो नि ।’
उनले नेकपा एमालेले महाधिवेशन सम्पन्न गरिसकेको सन्दर्भ उल्लेख गर्दै अब कांग्रेसले पनि महाधिवेशन नगरे लाजमर्दो अवस्था आउने बताए । ‘एउटा कम्युनिष्ट पार्टीले अधिवेशन गरिसक्यो, उसले सकारात्मक म्यासेज दियो । त्यसैले हामीले पनि महाधिवेशन गरौं’, पौडेलले भने ।
महाधिवेशनमार्फत पार्टीलाई अध्यावधिक गर्न नसके देशलाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा विश्वास नजाग्ने उनको भनाइ थियो । ‘हामीले आफ्नो पार्टीलाई अपडेट गर्न सक्दैनौं, विधानले जे व्याख्या व्यवस्था गरेको हो त्यस अनुसार अगाडि लैजान सक्दैनौं भने देशलाई लान्छौं भनेर कसरी पत्याइन्छ ?’ भन्दै उनले प्रश्न गरे । महाधिवेशन नगर्दा लोभका कारण पद ओगटेर बसेको र परिवर्तन नचाहेको सन्देश जाने उनको टिप्पणी थियो । ‘पार्टी निर्वाचनको मुखमा छ, पार्टीमा चलायमान पनि आउँदैन’, पौडेलले भने ।