काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–२ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट गरेकी छन् । विभिन्न सञ्चारमाध्यममा उनले उम्मेदवारी फिर्ता लिएको भन्ने समाचार प्रकाशित भएपछि त्यसप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती खबरहरू पूर्ण रूपमा भ्रामक र निराधार रहेको जनाएको छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा तामाङको सचिवालयले उम्मेदवारी फिर्ता लिएको भन्ने दाबीको खण्डन गर्दै भन्यो, ‘उम्मेदवारी फिर्ता लिएको छैन । उहाँ अहिले धादिङमै हुनुहुन्छ र सक्रिय रूपमा चुनावी अभियानमै संलग्न हुनुहुन्छ । पिआर विवाद भनेर प्रचार गरिएका समाचारहरू समेत आधारहीन र भ्रामक छन् ।’ सचिवालयले अपुष्ट सूचनाका आधारमा समाचार नप्रसारण गर्न र यस्ता गलत खबरको पछि नलाग्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।
१० माघ २०८२, शुक्रबार ०३:५६ मा प्रकाशित