८ पुस, काठमाडौं । काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । बिक्रीका लागि मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएको रायो सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी फेला परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १५ पसलबाट संकलन गरिएका १५ थरी तरकारी तथा फलफूलको परीक्षण गरेको थियो । परीक्षणका क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएपछि उक्त साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य ठहर गरिएको हो ।
सरकारी मापदण्डअनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भए मात्र तरकारी उपभोगयोग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन राखेपछि मात्र प्रयोग गर्न मिल्ने व्यवस्था छ भने ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिने गरिएको छ ।
यसअघि पनि हरियो धनियाँ, स्थानीय काउली, ब्रोकाउली, तिते करेला, हरियो फर्सी, घिउसिमी लगायतका तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिँदै आएको छ ।