विराटनगर । कोशी प्रदेशको विहीबार बसेको मन्त्रिपरिषदकोे वैठकले कोशी योजना आयोगको रिक्त सदस्य पदमा महिला उद्यमी धरान उपमहानगरपालिकाकी मनिता घिमिरेलाई नियुक्त गरेको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले बैठकका निर्णय सार्वजनिक गर्दै जानकारी दिएका हुन् । विभिन्न प्रकारका जडिबुटीबाट घरमै विभिन्न ब्राण्डका सावुनहरु उत्पादन गर्दे आएकी घिमिरे आफूमात्र हैन अन्य महिलाहरुलाई पनि उद्यमी तालिम दिँदै आएकी छन् ।
कोशी प्रदेशका विभिन्न स्थानीय तहको आयोजनामा उनले सावुन बनाउने तालिम दिँदै आएकी हुन् ।कोशी प्रदेश सरकारले प्रदेश सभाको नवौँ अधिवेशन आगामी जेठ ६ गतेदेखि आह्वान गर्ने निर्णय गरेको छ ।
विहीबार बिहान ९ः३० बजे बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानसँगै कर्मचारी पदस्थापन, योजना आयोग नियुक्ति तथा विभिन्न नीतिगत र कानुनी विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सभाको नवौँ अधिवेशन जेठ ६ गते बुधबार दिउँसो ३ बजे विराटनगर–७ स्थित वीरेन्द्र सभागृहमा सुरु हुने जानकारी दिए ।
यसैगरि मन्त्रिपरिषदको बैठकले नेपाल सरकारबाट सरुवा भई कोशी प्रदेश आएका प्रदेश सह–सचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा पदस्थापन गर्ने निर्णय पनि गरिएको छ ।
बैठकले विभिन्न नियमावली, आदेश तथा दिग्दर्शनलाई थप अध्ययन र छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय समेत गरेको छ । कोशी प्रदेश तथ्याङ्क नियमावली, २०८२ लाई मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा पठाइएको छ भने कोशी योजना आयोग (गठन तथा सञ्चालन) पहिलो संशोधन आदेश, २०८३ लाई कानुन न्याय समितिमा पठाइएको छ ।
त्यस्तै कोशी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८३ लाई थप अध्ययनका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको छ ।
प्रदेश सरकारले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने तथा आगामी बजेट अधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारीस्वरूप प्रदेश सभा अधिवेशन आह्वान गरिएको मन्त्री पराजुलीले बताए ।