कांग्रेसले उम्मेदवार टुंग्याउन संसदीय समिति गठन गर्दै देउवा

nepaltext.com

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन केन्द्रीय संसदीय समिति गठन गर्ने तयारी गरेको छ । कांग्रेस विधानको दफा ३१ को घ मा केन्द्रीय संसदीय समिति गठनको व्यवस्था छ, जसअनुसार समितिको सभापति पार्टी सभापति नै रहने प्रावधान छ । विधानमा ‘संसदीय समिति’ उल्लेख भए पनि कांग्रेसवृत्तमा यसलाई संसदीय बोर्ड भन्ने चलन रहँदै आएको छ । विधानले केन्द्रीय समितिबाट संसदीय समिति गठन गर्नुपर्ने व्यवस्था गरे पनि हाललाई कार्यसम्पादन समितिमार्फत सभापति र कार्यवाहक सभापतिलाई समिति गठनको जिम्मेवारी दिने तयारी भइरहेको छ । कांग्रेसका एक पदाधिकारीले भने, ‘सभापति स्ल्यास कार्यवाहक सभापतिले सबैसँग परामर्श गरेर संसदीय समिति गठन गर्नेगरी कार्यसम्पादनले निर्णय लिनेछ,’ ।

ती पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच सबैसँग परामर्श गरेर छिट्टै संसदीय समिति बनाउने सहमति भइसकेको छ । यसअघि नै कांग्रेसले उम्मेदवारको आधिकारिक पत्रमा सभापति देउवाको हस्ताक्षर रहने व्यवस्था गरिसकेको छ । खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइए पनि महत्वपूर्ण निर्णयमा देउवाकै प्रभाव रहँदै आएको कांग्रेसभित्र चर्चा छ । कांग्रेस विधानअनुसार सभापतिको नेतृत्वमा रहने केन्द्रीय संसदीय समितिमा सबै पदाधिकारी पदेन सदस्य रहनेछन् । त्यसबाहेक केन्द्रीय समितिका सदस्यमध्येबाट समावेशी आधारमा बढीमा ११ जनासम्म संसदीय समितिमा राख्न सकिने व्यवस्था छ ।

अघिल्लो निर्वाचनमा सभापति देउवाले आफू र पदाधिकारीबाहेक तत्कालीन नेता रामचन्द्र पौडेललाई मात्रै संसदीय समितिमा समेटेका थिए । यसपटक भने पदाधिकारीबाहेक डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौंला र डा. शशांक कोइरालालाई समेत संसदीय समितिमा समेट्ने तयारी देउवाले गरेको बताइन्छ ।

प्रतिक्रिया