२५ जनाले गरे रक्तदान, ३२ ज्येष्ठ नागरिकले पाए निःशुल्क स्वास्थ्य परीक्षण
- श्याम खतिवडा
काठमाडौँ २३ साउन
- राजधानीमा आयोजित रक्तदान तथा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। सामाजिक संस्था, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा २५ जनाले स्वेच्छिक रक्तदान गरेका छन् भने ३२ जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।
कार्यक्रममा संकलित रगत आवश्यक परेका बिरामीहरूको उपचारमा उपयोग गरिने जनाइएको छ। सहभागीहरूले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट उदाहरण भन्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
डेल्टा अस्पतालका प्रबन्ध निर्देशक तथा हाडजोर्नी एवं नसारोग विशेषज्ञ डा. रामकृष्ण श्रेष्ठका अनुसार कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै रक्त अभाव न्यूनीकरणमा सकारात्मक योगदान पुर्याएको छ। उनले ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षणले दीर्घकालीन रोगको प्रारम्भिक पहिचान र समयमै उपचारमा सहयोग पुग्ने बताए।
समुदायसँग जोडिने डेल्टाको अभियान
केही समयअघि मात्र सञ्चालनमा आएको डेल्टा अस्पतालले छोटो अवधिमै समुदायमुखी कार्यक्रममार्फत आफ्नो छुट्टै पहिचान बनाउन थालेको सरोकारवालाहरू बताउँछन्। रक्तदान, स्वास्थ्य शिविर, स्वास्थ्य परामर्श तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको अस्पतालले सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिका रूपमा अघि बढाएको जनाएको छ।
स्थानीय सामाजिक संस्था र स्वयंसेवी समूहहरूको सहकार्यमा आयोजना गरिएका यस्ता कार्यक्रमले स्वास्थ्य सेवा अस्पतालभित्र सीमित नराखी समुदायसम्म पुर्याउने प्रयासलाई थप प्रभावकारी बनाएको सहभागीहरूको प्रतिक्रिया छ।
विशेषज्ञ सेवातर्फ बढ्दो आकर्षण
अस्पताल प्रशासनका अनुसार डेल्टा अस्पतालमा आँखा, दाँत, मुटुरोग, हाडजोर्नी तथा जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा नियमित रूपमा उपलब्ध छ। अनुभवी चिकित्सक, आधुनिक उपकरण र बिरामीमैत्री सेवाका कारण अस्पतालप्रति नागरिकको आकर्षण बढ्दै गएको दाबी प्रशासनले गरेको छ।
छोटो समयमै प्रभावकारी सेवा प्रवाह गर्न सफल भएको भन्दै धेरै बिरामीले डेल्टालाई आफ्नो पहिलो प्राथमिकताको अस्पताल बनाउन थालेको सरोकारवालाहरूको भनाइ छ। विशेषगरी हाडजोर्नी, नसारोग तथा दीर्घकालीन स्वास्थ्य समस्याका बिरामीहरू अस्पतालप्रति बढी आकर्षित भएको बताइन्छ।
स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वको संयोजन
रक्तदान कार्यक्रम, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण र समुदायसँग प्रत्यक्ष जोडिएका गतिविधिले डेल्टा अस्पताललाई सेवा र सामाजिक उत्तरदायित्व दुवै क्षेत्रमा सक्रिय संस्थाका रूपमा स्थापित गरिरहेको देखिन्छ। स्वास्थ्य सेवा र मानवीय सहयोगलाई एकसाथ अघि बढाउने यस्ता अभियानले राजधानीमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूको भनाइ छ। अस्पताल काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी लाउरेचोकमा सञ्चालित छ ।