दोलखा । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै दोलखामा जिल्ला स्तरीय तयारी बैठक सम्पन्न भएको छ। बैठकले जिल्लाका ९ वटै स्थानीय तह र ७४ वटै वडामा तोकिएकै समयमा वडा तथा गाउँ अधिवेशन भव्य र सौहार्दपूर्ण रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको प्रमुख आतिथ्यतामा तथा जिल्ला सभापति बर्मा लामाको अध्यक्षतामा सम्पन्न बैठकले आगामी असोज १० गते दुवै प्रदेश क्षेत्रको अधिवेशन सम्पन्न गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा केन्द्रीय सदस्य शिवाकोटीसहित कांग्रेसका पूर्व जिल्ला सभापतिहरू उद्दवराज काफ्ले र रुद्र खड्का, उपसभापतिहरू छवि लामा र अर्जुन शिवाकोटी, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर मानन्धरसहित जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।
बैठकले वडा, गाउँ तथा प्रदेश क्षेत्रीय समितिका अधिवेशन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिने निर्णय गरेको जिल्ला सभापति बर्मा लामाले जानकारी दिए। उनका अनुसार निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न पार्टीका स्थानीय तहदेखि वडा तहसम्मका संरचनालाई परिचालन गरी तयारी अघि बढाइएको छ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले १५औँ महाधिवेशनलाई सबै नेता–कार्यकर्ताले अपनत्व महसुस गर्ने अवसरका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत र सौहार्दपूर्ण वातावरण निर्माण गर्दै मनमुटावरहित ढंगले अधिवेशन सम्पन्न गर्न कार्यकर्तालाई अपिल गरे।
कांग्रेसको महाधिवेशनअन्तर्गत स्थानीय तहदेखि प्रदेश क्षेत्र हुँदै जिल्ला तहसम्मका अधिवेशनलाई व्यवस्थित र सहमतिमूलक रूपमा सम्पन्न गर्ने उद्देश्यले दोलखा कांग्रेसले तयारीलाई तीव्र बनाएको छ।