भोटेकोशी बाढी : काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

nepaltext

काभ्रेपलाञ्चोक । भोटेकोशीमा आएको बाढीमा परी तीन साताभन्दा बढी समयदेखि काभ्रेपलाञ्चोकका ३७ नागरिक सम्पर्कविहीन भएका छन् । बेपत्तामध्ये तीन जनाको परिवारले जीवित भेटिने आश त्याग्दै कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरेका छन् ।

जिल्लास्थित प्रशासन कार्यालयको आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढीपछि सम्पर्कविहीन भएका नागरिक अहिलेसम्म परिवार तथा प्रशासनको सम्पर्कमा आएका छैनन् ।

सम्पर्कविहीन हुनेमा चौँरी देउराली गाउँपालिका–५ का हेमन्त चौलागाईं र प्रतीक गौतम, वडा नं ७ की सम्झना मोक्तान तथा चौँरी देउराली–२ घर भई हाल कलङ्की बस्ने राजेन्द्र प्रधान रहेका छन् ।

त्यस्तै, पनौती नगरपालिका–५ का दिनेश श्रेष्ठ, वडा नं ३ का अच्युत सापकोटा र वडा नं ९ का अर्जुन खत्री केसी पनि सम्पर्कविहीन छन् ।

बनेपा नगरपालिकाका वडा नं ९ का उद्धव सापकोटा, वडा नं १० का बालकृष्ण रञ्जित र प्रह्लाद गिरी तथा वडा नं ८ का एगेश श्रेष्ठ, आशिष गुभाजु, भोगेन्द्रकुमार खत्री र वडा नं १३ की प्रकृति डङ्गोल पनि सम्पर्कमा नआएको केन्द्रले जनाएको छ ।

पाँचखाल नगरपालिका–११ का मिलन खरेल र राजकुमार गौतम, वडा नं ३ का ज्ञानेन्द्रलाल श्रेष्ठ, भुम्लु गाउँपालिका–१ का महेश पन्त, मिलन श्रेष्ठ र प्रकाश श्रेष्ठ, वडा नं ५ का राजकुमार रिजाल तथा वडा नं ८ का सुवास तामाङ पनि बेपत्ता छन् ।

यसैगरी, बेथानचोक गाउँपालिका–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन र आइते तामाङ, तेमाल गाउँपालिका–७ का विशाल तामाङ, वडा नं ८ का गणेश लामा तथा वडा नं ६ का सुमन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ, ज्ञानबहादुर राना मगर र मिलन तामाङ सम्पर्कविहीन रहेका छन् ।

मण्डनदेउपुर नगरपालिका–२ का कुलबहादुर तामाङ, धुलिखेल नगरपालिका–२ का सङ्गम चौलागाईं र सुकुमान तामाङ, वडा नं ३ का मनिक भुजेल तथा वडा नं ८ का महेश तामाङ पनि हालसम्म सम्पर्कमा आएका छैनन् ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बेपत्ता नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल गरिरहेको जानकारी दिएका छन् ।

यसैबीच, तीन साताभन्दा बढी समयसम्म कुनै खबर नआएपछि पाँचखाल नगरपालिका–११ का राजकुमार गौतम तथा बनेपा नगरपालिका–१० का बालकृष्ण रञ्जित र प्रह्लाद गिरीका परिवारले कुशको शव बनाएर परम्पराअनुसार दाहसंस्कार गरेका छन् ।

बाढीमा परी ज्यान गुमाएका पाँचखाल नगरपालिका–६ का बसचालक दिलकुमार श्रेष्ठ र रोशी गाउँपालिका–९ का शङ्खबुद्ध तामाङको शव भने यसअघि नै फेला परिसकेको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ ।

रासस

प्रतिक्रिया