कालिञ्चोकमा किवी खेती प्रवर्द्धन: ४५ कृषकलाई २५ लाख बराबरको पाइप र तार वितरण

nepaltext.com

दोलखा,  दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. १, क्याम्पोलमा व्यावसायिक किवी खेती गरिरहेका कृषकहरूलाई पूर्वाधार निर्माणका लागि ठूलो परिमाणमा सामग्री सहयोग गरिएको छ।

नामसालिङ सामुदायिक विकास केन्द्र (NCDC) र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित 'एकीकृत सामुदायिक विकास परियोजना' अन्तर्गत शुक्रबार एक कार्यक्रमका बीच सामग्री वितरण गरिएको हो।

उक्त कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्र, दोलखाका जिल्ला संयोजक राजन क्षेत्री प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। गत वर्ष किवीको लहरा व्यवस्थापनका लागि थाङ्ग्रा वितरण गरिएकोमा यस वर्ष त्यसलाई थप व्यवस्थित र स्थायी बनाउन फलामे पाइप र तार उपलब्ध गराइएको हो।

प्राविधिक सहयोग र सल्लाह सामग्री वितरणसँगै कृषकहरूलाई उक्त पाइप र तारको उचित व्यवस्थापन, किवीको लहरालाई दिइने 'ट्रेली' (Trellis) प्रणाली र आधुनिक प्रविधिको प्रयोगबारे प्राविधिक सल्लाह तथा सुझाव समेत दिइएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजन क्षेत्रीले स्थानीय कृषकहरूको आर्थिक अवस्था सुधार्न र क्याम्पोललाई किवीको नमुना क्षेत्र बनाउन परियोजनाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, वडा अध्यक्ष पदम बहादुर थामीले परम्परागत खेतीको विकल्पमा किवी खेतीले कृषकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। यो सहयोगले भित्रीखर्क क्षेत्रका कृषकहरूलाई व्यावसायिक किवी उत्पादनमा थप हौसला मिलेको नामसालिङका प्रमुख कार्यकारी अधिकृत हिराकाजी घलेले बताउनुभयो ।  

नामसालिङ सामुदायिक विकास केन्द्र इलामले लामो समयदेखि दोलखाको कालिञ्चोक गाउँपालिकाका ३ वटा वडामा एकिकृत सामुदायिक विकास, शिक्षा,स्वास्थ्य , कृषि, महिला शसक्तीकरण लगाएतका विषयमा महत्वपुर्ण कामहरु गर्दै आएको संस्थाका परियोजना प्रमुख सुबोध निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया