सप्तरी । सप्तरीमा साउन १४ गते रातिदेखि जारी कर्फ्यु आदेश अझै कायम रहेको छ। जिल्ला प्रशासन कार्यालय राजविराजले भने नागरिकको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै आज बिहान ७ बजेदेखि ११ बजेसम्म अत्यावश्यक तथा दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि कर्फ्यु खुकुलो बनाएको छ।
प्रशासनले ११ बजेपछि कर्फ्यु आदेश पूर्ण रूपमा लागू हुने भएकाले सबैलाई यसको पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न आग्रह गरेको छ।
जारी सूचनाअनुसार तोकिएको समयभित्र हुलदङ्गा, अशान्ति वा अन्य कुनै उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई उच्छृङ्खल गतिविधि गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
सुनसरीबाट फैलिएको साम्प्रदायिक तनावपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन साउन १४ गतेदेखि सप्तरीका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको हो।
१७ साउन २०८३, आईतबार ०८:३३ मा प्रकाशित