निर्वाचनअगावै महाधिवेशनको लबिङ गर्ने कांग्रेस नेताहरूको शेखर कोइरालासँग छलफल

nepaltext.com

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने भन्दै ‘लबिङ’ गर्दै आएको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ। पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गरिरहेका कोइरालासँग विशालनगरस्थित उनको सम्पर्क कार्यालयमा छलफल गरेको हो। बिहान साढे ८ बजेबाट सुरू भएको छलफल करिब दुई घण्टासम्म चलेको नेताहरूले बताएका छन्।

केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीभित्र चुलिँदै गएको महाधिवेशनसम्बन्धी विवादलाई व्यवस्थापन गर्न मध्यमार्गी निकास खोज्ने विषयमा डा. कोइरालासँग छलफल भएको जानकारी दिए। ‘मध्यमार्गी लाइनबाट डा. शेखरसँग छलफल भयो । अहिले जुन किसिमको विशेष गर्ने र नगर्ने बीचको टसल आएको छ, त्यसलाई व्यवस्थापन गर्ने र मध्यमार्गी बाटो निकाल्ने बारे छलफल गरिरहेका छौं’, शेर्पाले भने। उनका अनुसार विवाद समाधानका सम्भावित मोडालिटीबारे पनि छलफल भइरहेको छ, यद्यपि त्यसबारे विस्तृत रूपमा बताउन उनी तयार भएनन्। ‘मोडालिटीबारे अहिले त नभनौं । दुई–तीनवटा मोडालिटी आएको छ’, उनले भने, ‘त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ । ठोस रूपमा आइसकेपछि हामी भन्छौं । अहिले छलफलमै छौं ।’

शेर्पाका अनुसार मोडालिटी तयार भइसकेपछि सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएको समूहसँग छलफल गरेर साझा निष्कर्षमा पुग्ने प्रयास गरिनेछ। ‘मोडालिटीका बारेमा छलफल भइराखेको छ । मोडालिटी तयार गरिसकेपछि हामी सभापतिजी, कार्यवाहक सभापति र महामन्त्रीहरू र विशेष महाधिवेशन पक्षधरसँग राखेर एउटा निष्कर्षमा पुग्ने कोसिस गरिरहेका छौं’, उनले भने। यसअघि उक्त समूहले १८ पुसमा सभापति देउवासँग भेट गरेको थियो भने सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो। १५ औं महाधिवेशनको कार्यतालिकाबारे पार्टीभित्र बहस चलिरहेका बेला यो २५ सदस्यीय समूह निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने पक्षमा खुलेर उभिएको छ।

प्रतिक्रिया