'गल्ती गरेको छैन, डराउँदिन': आफू विरुद्धका भ्रामक प्रचारप्रति सांसद जगदीश खरेलको आपत्ति

nepaltext.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूमाथि लागेको आरोपहरूको कडा शब्दमा प्रतिवाद गरेका छन्। स्मार्ट टेलिकमको अर्बौँ रकम हिनामिनामा आफ्नो संलग्नता रहेको भन्दै प्रकाशित समाचारहरूको खण्डन गर्दै उनले यसलाई नियोजित 'मिडिया ट्रायल' को संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै खरेलले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक प्रचार गरिएको दाबी गरे। आफू सञ्चारमन्त्री हुँदा आर्थिक अनियमितता गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको जिकिर गर्दै उनले शुभचिन्तकहरूलाई यस्ता कुप्रचारको विश्वास नगर्न आग्रह गरेका छन्।

हाल स्विजरल्याण्डमा रहेका सांसद खरेलले आफूविरुद्ध भइरहेका प्रहारबाट विचलित नहुने बताउँदै लेखेका छन्:

‘गल्ती गरेको छैन, त्यसैले अलिकति पनि डर छैन। सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ,’ उनले लेखेका छन्, ‘मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ। यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ।’

खरेलले आफूलाई दोषी देखाउन खोज्नेहरूविरुद्ध कानुनी उपचारमा जाने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया