बाजुराको व्यथा: बाजुरामा स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै सुत्केरी भइन् दोइला

nepaltext.com

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएकी छन्। वडा नम्बर–२ भैसागाडकी २६ वर्षीया दोइला भण्डारीले सुत्केरी व्यथा लागेपछि अस्पताल जाँदै गर्दा बाटोमै छोरीलाई जन्म दिएकी हुन्।

भैसागाडबाट फायल गाउँ आधारभूत स्वास्थ्य चौकी पुग्न धेरै समय लाग्ने र यातायातको सुविधा नभएका कारण उनले बीच बाटोमै बच्चा जन्माउनु परेको हो। व्यथाले च्यापेपछि स्वास्थ्यकर्मी विस्ना रोकाया र स्थानीयको सहयोगमा बाटो छेउकै एक गाई गोठ नजिकै उनको सुरक्षित प्रसूति गराइएको थियो। स्वास्थ्यकर्मी रोकायाका अनुसार अहिले आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभाव कतिसम्म छ भन्ने कुराको यो एउटा प्रतिनिधि घटना मात्र हो। स्थानीय केशव भण्डारीका अनुसार जिल्लामा पटक–पटक नेता र नेतृत्व फेरिए पनि बाजुराको अवस्था भने फेरिन सकेको छैन। स्वास्थ्य कार्यालय बाजुराका अनुसार जिल्लामा अझै पनि महिनामा २ देखि ३ जना महिला बाटोमै सुत्केरी हुने गरेका छन्।

भौगोलिक विकटता, नियमित गर्भ जाँचको कमी, सानो उमेरमा बच्चा जन्माउनु र पौष्टिक आहारको अभाव जस्ता कारणले बाजुराका आमाहरूको ज्यान अझै पनि जोखिममा छ। सरकारले सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि भौगोलिक कठिनाइका कारण धेरै आमाहरू बाटोमै बच्चा जन्माउन र कतिपयले ज्यान गुमाउन बाध्य छन्। यस्तो अवस्थामा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवालाई अझ सहज र पहुँचयोग्य बनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया