उज्यालो नेपाल पार्टी मंसिर १७ मा औपचारिक घोषणा गर्दै

nepaltext.com

काठमाडौं, नयाँ राजनीतिक दल उज्यालो नेपाल पार्टीले मंसिर १७ गते आफ्नो औपचारिक घोषणा गर्ने जानकारी दिएको छ। पार्टीले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै भन्यो कि घोषणा प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेदेखि ४ बजेसम्म हुनेछ।

पार्टीले आफ्नो दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र (२०८२) यस अवसरमा औपचारिक रूपमा सार्वजनिक गर्नेछ। घोषणापत्रमा पार्टीको सैद्वान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजना स्पष्ट रूपमा प्रस्तुत हुने बताइएको छ।

उज्यालो नेपाल पार्टी जनताको बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष न्यायपालिका र कानूनी राज्यको अवधारणामा आधारित समाजवादमा प्रतिबद्ध रहेको जनाएको छ। पार्टीले समृद्ध राष्ट्र निर्माणका लागि दर्ता भएको पनि उल्लेख गरेको छ।

कार्यक्रममा वृहत जनसहभागीता रहने अपेक्षा गरिएको छ भने नेपाल सरकारका मन्त्री कुलमान घिसिङ प्रमुख अतिथि हुनेछन्। पार्टीले हालैको जेनजी आन्दोलनलाई संस्थागत नगरे देशले थप आन्दोलनको भार वहन गर्न नसक्ने पनि बताएका छन्।

उज्यालो नेपाल पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ रहेको छ, जसले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रस्तुत गर्दछ।

प्रतिक्रिया