सागर ढकालको सादगी अभियान, माछामासु–रक्सी त्याग्दै खर्चको बिल सार्वजनिक

nepaltext.com

काठमाडौं । गुल्मी–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले चुनावी अभियानका क्रममा माछामासु, रक्सी नखाने र सादगीपूर्ण ढंगले प्रचार गर्ने घोषणा गरेका छन् । उनले एक रातको बसाइँ र खानाको खर्च सार्वजनिक गर्दै पारदर्शिता देखाएका हुन् । ढकाल हिजो बेलुका गुल्मीको मालिका गाउँपालिका–स्थित सिमलटारी पुगेका थिए, जुन क्षेत्र नम्बर २ मा पर्छ जहाँ रास्वपाबाट गोविन्द पन्थि उम्मेदवार छन् ।

बोलेरो गाडीमा ढकाल र पन्थीसहित ६ जनाको टोली सिमलटारीको सिता होटल एन्ड रेस्टुरेन्टमा बास बसेको थियो । ढकालले आज बिहान सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै उनीहरूको एक रातको खर्च विवरण सार्वजनिक गरे । उनका अनुसार ६ जनाले पूर्ण शाकाहारी खाना खाएका थिए । बिलअनुसार प्रतिव्यक्ति दुई सय रुपैयाँका दरले खानाको खर्च १२ सय रुपैयाँ, चार सय रुपैयाँ दरका तीनवटा कोठाको भाडा १२ सय रुपैयाँ र चिया तथा खाजामा २२५ रुपैयाँ खर्च भएको देखिन्छ । यसरी कुल खर्च २६२५ रुपैयाँ भएको उनले देखाएका छन् ।

ढकालले गाडी भाडामा लिएर हिँड्दा दैनिक तीनदेखि चार हजार रुपैयाँसम्म खर्च हुने र कसैलाई पनि तेल नबाँडिएको स्पष्ट पारे । उनले देशभरिका रास्वपा उम्मेदवारलाई माछामासु, रक्सी र बाइकको तेल बाँड्ने प्रचलन बन्द गरेर सादगीपूर्ण ढंगले चुनाव लड्न सुझाव दिए ।

‘हामी माछामासु, रक्सी केही पनि खाँदैनौँ । तपाईंहरूले पनि यिनै कुरा बन्द गर्नुभयो र बाइकको तेल नबाँड्नुभयो भने सादगी चरित्रबाटै चुनाव जित्न सकिन्छ,’ ढकालले भने ।

ढकालले आफूसँगै हिँडेका उम्मेदवार गोविन्द पन्थीलाई आज बिहान निर्धारित समयभन्दा चार मिनेट ढिला भएको भन्दै चार पटक उठबस गराएको प्रसंग पनि सुनाए । ‘सात बजे गाडी चढ्ने भनिएकोमा उहाँ चार मिनेट ढिला हुनुभयो, त्यसैले चार पटक उठबस गराएँ,’ ढकालले भने । पन्थीले पनि उठबस गरेको स्वीकार गर्दै अनुशासन पालना गर्नुपर्छ भने । पन्थी पूर्व डीएसपी तथा अधिवक्ता हुन् ।

ढकालले यसपटक गुल्मीमा रास्वपाले क्लिन स्वीप गर्ने दाबी गर्दै प्रतिस्पर्धा झापा र चितवनसँग रहेको बताएका छन् ।

प्रतिक्रिया